१०. अपमानित भएर बाँच्नु भन्दा

          केही समय यतादेखि रोङ्-कुओ-फू महलमा विभिन्न खालका घटनाहरू घट्न थालेका थिए । हरेक दिन जस्तो महलको पर्खाल चढेर मान्छेहरू भित्र आउँथे । महलको ढोकानिर सेवकहरू र प्रौढ सेविकाहरू राति रक्सी पिउँदै जुवा खेल्ने गर्दथे । माहिली चिया यीङ्छुन्‌को कोठाको सुनको जलप लगाइएको सजावटको वस्तु पनि हराएको थियो भने, महलभित्र एउटा अश्लील चित्र कोरिएको कपडाको थैली पनि भेटिएको थियो ।

          यी सबै कुराहरूबाट वाङ् फूरेन् क्रुद्ध हुनुभयो र वहाँले महलको सबै ढोकामा राम्ररी निरीक्षण गर्न र सबै सेविकाहरूको सरसामानको तलाशी लिन आदेश दिनुभयो । वाङ् फूरेन्‌को आदेशबाट वाङ् सिफङ्‌ले तलाशी लिन सुरु गरिन् । माहिली चिया यीङ्छुन्‌की सेविका स्‌छीको सामानहरूमा अरू अश्लील चित्रहरू भेटिए भने, कान्छी सीछुन्‌की सेविकाको सामानमा केही पैसा भेटियो । वाङ् फूरेन्‌ले स्‌छीलाई महलबाट निकाली दिनुभयो । चिया सीछुन्‌ले आफ्नी सेविकाको बचाउका लागि केही नभनेकी हुनाले चिया सीछुन्‌की सेविका पनि दण्डित भइन् ।

          त्यसवर्षको मध्यशरद् पर्वमा चिया माताले रातभर रमाइलो गर्न विचार गर्नु भयो र लोग्नेमानिसहरू सबैलाई सुत्न पठाई स्वास्नीमान्छेहरूसंग कुरा गर्न लाग्नु भयो । पूर्णिमाको चन्द्रमा हेर्दै नजिकैबाट आइरहकेो बाँसुरीको धुन सुनेर चिया मातालाई पहिले समृद्ध आफ्नो परिवार बिस्तारै पतन हुँदै गइरहेको अनुभव भयो, यस्तो अनुभव हुनासाथ चिया मातालाई रातमा रमाइलो गर्ने मन पनि लाग्न छोड्यो । वहाँले सबैलाई फर्किनलाई भनेर आफू पनि कोठामा फर्किनु भयो । लीन् ताइय्वि र श्‌र् सियाङ्य्वीन् दुईजना चाहिं तुरुन्तै कोठामा फर्केनन्, उनीहरूले उपवनको पोखरी वरपर हिंड्दै प्रत्येकले एक एक हरफ जोड्दै कविता रच्न थाले । दुबै जनाको आमाबाबुको मृत्यु भइसकेको हुँदा आफ्नो भविष्यप्रति दुबैको एकै प्रकारको चिन्ता रहेको थियो ।

          महलमा घटेका ती घटनाबाट वाङ् फूरेन्‌को रिस मरिसकेको थिएन । त्यही रिसको झोंकमा वहाँले पाओय्विका सबैभन्दा सुन्दर सेविका तीनजनालाई पनि महलबाट निकाली दिनुभयो । त्यसरी निकालिनेमा छीङ्वेन् पनि थिइन् । आमाको आदेश अगाडि पाओय्वि केही गर्न सक्दैनथे । छीङ्वेन्‌लाई पाओय्विलाई अनेक हाउभाव गरी आकर्षित गर्न खोजेको भन्ने आरोपमा निकालिएको थियो । छीङ्वेन्‌लाई त्यो आरोप बिल्कुलै चित्त बुझेको थिएन, किनकि उनीले कहिले पनि पाओय्वि त्यसरी आकर्षित गरेर फँसाउन खोजेकी थिइनन् । महलबाट निकालिंदा उनी बिरामी थिइन्, आफू निकालिएको कारणबारे उनी जति सोच्थिन्, उनीलाई त्यति नै रिस उठ्थ्यो । उनीलाई त्यसरी अपमानित भएर बाँचिरहन पनि मन लागेन र औषधि उपचार गर्न पनि छोडिदिइन् । एकदिन अरूले थाहा नपाउने गरी पाओय्वि उनीलाई भेट्न गए । छीङ्वेन्‌ले यतिका वर्षसम्म आफूलाई राम्रो व्यवहार गरी राखेकोमा पाओय्विलाई धन्यवाद भनिन् र केही उपहार दिँदै आफू अब धेरै दिन नबाँच्ने कुरा बताइन् । विवश पाओय्वि त्यहाँबाट दुःखी भएर फर्के । दुई तीन दिनमै छीङ्वेन् मरेको खबर आयो । पाओय्वि दिनभर रोएर बसे, साँझ पर्न थालेपछि छीङ्वेन्‌को सम्झनामा लामो श्रद्धाञ्जली लेखे । त्यो श्रद्धाञ्जली लिएर बगैंचामा गएर छीङ्वेन्‌को सम्झनामा उनले धूप पनि बाले ।

          स्य्वेयीमाले आफ्नो छोरो स्य्वे फान्‌को विवाह राजधानी शहरकै एक ठूला व्यापारीकी छोरीसंग गरिदिनुभयो । ती बुहारी एकदम कडा स्वभावकी थिइन्, बाहिर सधैं उपद्रव गर्दै हिंड्ने स्यवे फान् पनि उनीसंग एकदम डराउँथे । ती बुहारीले माइतीबाट एक सेविका साथमा लिएर आएकी थिइन् । स्य्वे फान्‌को आँखा उनीमाथि पर‌्‌यो, विवाह भएको धेरै दिन नहुँदै स्य्वे फान्‌ले उनीलाई पनि उपपत्नी बनाए । स्य्वे फान्‌का ती दुई श्रीमतीको कारण घरमा कहिले पनि शान्ति भएन, स्य्वेयीमा र स्य्वे पाओछाइ दिक्क भए, तर स्य्वे फान् आफै उनीहरूसंग डराउने भएको हुँदा केही उपाय पनि थिएन ।

          त्यसै महिना माहिली यीङ्छुन्‌को पनि विवाह भयो । त्यो विवाह नगराउन चिया माता र चिया चङ्ले धेरै प्रयास गर्नुभएको थियो । वहाँहरूलाई त्यो केटो क्रुर स्वभावको भएकोले उनले यीङ्छुन्‌लाई राम्रो व्यवहार गर्दैन भन्ने लागेको थियो । तर चिया यीङ्छुन्‌का बाबु चिया शले कसैको कुरा नसुनी केटा पक्षसंग पैसा लिएर चिया यीङ्छुन्‌को विवाह गरिदिनु भयो । विवाह भएको एक महिना पछि चिया यीङ्छुन्‌ माइती फर्किदा उनीको शारीरिक र मानसिक अवस्था एकदम बिग्रिसकेको थियो । लोग्नेले उनीलाई दिनदिनै गाली गरेर पिट्दथ्यो, “तँलाई पैसा तिरेर किनेर ल्याएको हुँ” भनेर अपमान गर्दथ्यो । वाङ् फूरेन्, वाङ् सिफङ् आदि चिया यीङ्छुन्‌को कुरा सुनेर अति दुःखी भए । पाओय्विले आफ्नी आमालाई “त्यसो भए माहिली दिदीलाई अब यहीं राख्नुस्, लोग्नेको घर नपठाउनुस्” भन्दा वाङ् फूरेन्‌ले “विवाह भइसकेकी छोरीलाई कहाँ त्यसरी राख्न मिल्छ र?” भन्नुभयो । फेरि लोग्नेको घरमा गएको केही महिना नै चिया यीङ्छुन्‌को मृत्यु भएको खबर आयो ।

          आफू घरमा नभएको वर्षभरि नै पाओय्विले राम्ररी नपढेको थाहा पाएर चिया चङ्ले पाओय्विलाई एक अध्यापक कहाँ लगेर उनको पढाइको व्यवस्था गरिदिनुभयो र वहाँले अध्यापकलाई पाओय्विलाई कडाइका साथ पाठ पढाउन पनि भन्नुभयो । तर दोस्रै दिन पाओय्वि पढ्ने कक्षाकोठामा ढीलो पुगे । त्यो देखेर अध्यापकले अति रिसाएर पाओय्विलाई पढ्ने कामलाई त्यसरी ख्याल ठट्टाको रूपमा लिन नहुने, र ख्याल ठट्टाको रूपमा लिने भए कहिले पनि राम्ररी पढ्न नसकिने कुरा बताउनुभयो । पाओय्विले पनि पछिदेखि पढ्ने कामलाई गम्भीरता पूर्वक लिने वचन दिए ।

          लीन् ताइय्विको स्वास्थ्य बिग्रिंदै गयो । उनीलाई खोकी लागिरहन्थ्यो । कहिलेकाहीं ज्वर पनि आउँदथ्यो । दुईचार पटक खोक्दा खकारमा रगत पनि आएको थियो । औषधि त उनीले खाइ नै रहेकी थिइन्, तर फाइदा भने भएको थिएन । एक रात उनीले एउटा सपना देखिन्, सूचउका आफ्ना नातेदारहरूले उनीलाई सूचउ फर्काएर त्यहीं विवाह गरिदिएछन्, उनीहरूले उनीलाई पेइचीङ्‌मा लिन आउदा चिया परिवारका कसैले पनि उनीहरूलाई रोक्न खोजेनन्, ….. सपनाबाट ब्युँझे पछि उनी दुःखी भएर रुन थालिन् । सेविका च्‌च्य्वीयान्‌ले सपनामा देखेको कुरा सम्झेर नरुनु होला भनेर सम्झाइन् । लिन् ताइय्विको स्वास्थ्य अझ बिग्रिंदै गयो ।

          उता राजदरबारबाट पनि य्वीयान्‌छुन् रानी बिरामी हुनु भएको खबर आयो, माइतीका चारजना महिला सदस्यलाई राजदरबार भित्र गई रानीलाई भेट्नका लागि बोलावट भयो । चिया माता, वाङ् फूरेन् आदि रानीलाई भेट्न राजदरबार जानु भयो । रानीको स्वास्थ्य समस्या सामान्य नभएकोले चिया माता चिन्तित भएर फर्किनुभयो ।

          पाओय्विले वचन दिए जस्तै परिश्रम गरेर पढ्न थालेको हुँदा उनको पढाइमा छिटै प्रगति पनि हुँदै गयो । पहिले सँधै पाओय्विलाई पढेन भनेर गाली गर्ने, पिट्न खोज्ने चिया चङ् अहिले उनी प्रति सन्तुष्ट हुनुहुन्थ्यो, उनले आफ्ना साथीभाइहरूसंग कुरा गर्दा पनि पाओय्विको प्रशंसा गर्न थाल्नुभयो । उच्चकुलीन धनी परिवारका पाओय्वि पहिले पढ्नमा अभिरुचि नराख्ने, सधै केटीहरूको बथानमा रमाएर बस्ने हुँदा मानिसहरूले उनलाई बिग्रिएको खराब केटो सम्झिन्थे । तर अहिले उनले पढाइमा ध्यान दिएर प्रगति पनि गर्न थालेकोले धेरै कुलीन परिवारहरूले उनीलाई आफ्ना छोरी दिई वैवाहिक सम्बन्ध राख्न प्रस्ताव गर्न थाले । तर चिया माताले ती सबैलाई कुनै न कुनै कारण देखाएर अस्वीकार गर्दै जानु भयो ।

          यसैबीच चिया चङ्को पदोन्नति भयो । वहाँलाई बधाइ दिन धेरै मानिसहरू घरमा आए । चिया चङ् आफूलाई बधाइ दिन आएका मानिसहरूसंग कुरा गरिरहुनभएकै बेलामा स्य्वे फान्‌ले बाहिर फेरि अर्को मान्छेलाई पिटेर मार्‌यो भन्ने खबर आयो । चिया चङ् स्तब्ध हुनुभयो, स्य्वेयीमाको परिवारलाई आफ्नै महलमा राख्दा स्य्वे फान्‌ले बाहिर गएर फेरि उपद्रव नगर्ला भन्ने वहाँले सोच्नु भएको थियो, तर त्यस्तो भएन । स्य्वे फान्‌ले मान्छे मारे पछि त्यहाँको स्थानीय अड्डाले उनलाई पक्रेर लगेको थियो । ज्यानमारालाई मृत्युदण्ड हुने त्यस बखतको कानुन भएको हुँदा स्य्वे परिवार र चिया परिवारले स्य्वे फान्‌लाई बचाउन स्थानीय अड्डाका पदाधिकारीलाई धेरै घूस दिए । ती पदाधिकारीले घूस लिएर स्य्वे फान्‌ले कर्तव्य गरी ज्यान मारेको नभई गल्तीले ज्यान गएको भन्ने व्यहोरा बनाई मृत्यदण्डबाट घटाएर देशनिकालाको सजायँ सुनाए ।

I BUILT MY SITE FOR FREE USING