२. प्रेमकथाको आरम्भ, प्रतिस्पर्धीको आगमन

          बज्यै चिया माताले पठाइदिनु भएको जहाजमा बसी लीन् ताइय्वि पेइचीङ्‌मा रहेको मामाघर रोङ्-कुओ-फू पुगिन् । नातिनी लीन् ताइय्विलाई देखेर चिया माता खुशी पनि हुनु भयो र आफ्नी बितेकी छोरी सम्झिएर दुःखी पनि हुनु भयो । चिया माताले लीन् ताइय्विलाई भेट्न जम्मा भएका सबैलाई एक एक गरी चिनाइदिनु भयो । त्यति नै बेला बाहिरैदेखि ठूलो स्वरले हाँस्दै बोल्दै एक नवयुवती आइन् । उनी चिया माताका ठूलो छोराको बुहारी, चिया लियान्‌की श्रीमती वाङ् सिफङ् थिइन् । वाङ् सिफङ्ले लीन् ताइय्विलाई नियालेर हेरिसके पछि भनिन् “संसारमा यति राम्री, कुनै दोष नभएका मानिस पनि हुने रहेछन्, मैले त कहिले पनि देखेकी थिइन्… ।” लीन् ताइय्विकी सानी माइजु वाङ् फूरेन्‌ले भन्नुभयो, “अति राम्री र चलाक रहिछिन्, तर अलि दुब्ली कमजोर देखिन्छिन्... ।” लीन् ताइय्विले आफू सानैदेखि कमजोर र रोगी रहेको बताइन् । वाङ् फूरेन्‌ले भन्नुभयो, “तिमीलाई यहाँ केही समस्या पर्ने छैन, केही चाहियो भने हामीलाई भन्नू, यहाँ भएका दिदी बहिनीहरू सबै जाती छन्, खालि मेरो एउटा उपद्र्याहा छोरो छ, उसले तिमीलाई केही दुःख दिए तिमी उसंग नबोले हुन्छ ।” त्यही बेला वाङ् फूरेन्‌को उपद्र्‌याहा छोरो चिया पाओय्वि दौडेर त्यहाँ आइपुग्यो । लीन् ताइय्विलाई देखेर मुग्ध भएर टोलाएर बस्यो । अनि एक छिन पछि सोध्यो, “लीन् मेइमेइ (बहिनी) संग पनि जेड छ ?” लीन् ताइय्विले “छैन” भनिन् । त्यो सुन्नासाथ पाओय्विले रिसाएर आफूले लगाइ राखेको जेड भुइँमा बजार्दै “लीन् मेइमेइको पनि जेड छैन रे, मलाई मात्र किन चाहिएको यो ढुङ्गो” भन्दै उफ्रिन थाल्यो । त्यो जेड बचाउन त्यहाँ भएका सबैजना दौडादौड गर्न थाले । भुइँमा बजारे पनि जेड फुटेन । आफ्नो कारणले पाओय्विले जेड निकालेर मिल्काएको देखेर लीन् ताइय्वि आत्तिएर रुन थालिन् । चिया माताले “लीन् मेइमइको पनि जेड थियो, तिम्री फुफू बित्नुहुँदा उनीले त्यो जेड आमालाई चढाइन्” भनेर पाओय्विलाई शान्त पार्न खोज्नु भयो । त्यसपछि चिया माताले लीन् ताइय्विलाई महल भित्र बस्ने व्यवस्था मिलाउनु भयो, उनीको सेवा गर्न च्‌च्य्वीयान्‌ नाम गरेकी सेविकालाई खटाउनु भयो ।

          केही दिन नबित्दै वाङ् फूरेन्‌की बहिनी स्य्वेयीमा वहाँहरूलाई भेट्न रोङ्-कुओ-फू आउनु भयो । स्य्वेयीमाको परिवार राजदरबारसंग सम्पर्क भएको ठूलो व्यापारी परिवार थियो । स्य्वेयीमाका एक छोरा स्य्वे फान् र एक छोरी स्य्वे पाओछाइ थिए, तर स्य्वेयीमाका श्रीमान्‌को चाहिं मृत्यु भइसकेको थियो । उचित नियन्त्रणको अभावमा स्य्वे फान् गुण्डागर्दी गर्दै हिंड्ने भएका थिए । अर्काको ज्यान मार्नुलाई समेत उनले सामान्य सम्झिएका थिए । हालै एकजना दासी केटीलाई हात पार्न उनले केटीको मालिकको हत्या गरेका थिए । ज्यान मुद्दाको सुनुवाइ पेइचीङ्को एक अड्डा अदालतमा हुन लागेको थियो । ज्यानमारालाई प्राणदण्ड हुने कनुन भएको हुँदा स्य्वेयीमा आत्तिएर आफ्नी दिदीकहाँ आएकी थिइन् । संयोगवश स्य्वे फान्‌को मुद्दाको सुनुवाइ हुने अदालतमा चिया चङ्ले सिफारिश गरेर नियुक्त भएका चिया य्वीछुन् पदाधिकारी भएर बसेका रहेछन् । चिया चङ्ले उनलाई अनुरोध गरी स्य्वे फान्‌लाई प्राणदण्डबाट बचाए । स्य्वे फान्‌को बानी व्यहोराबाट चिन्तित चिया चङ्ले आफ्नी श्रीमती वाङ फूरेन् मार्फत् वाङ् फूरेन्‌की बहिनी स्य्वे यीमालाई आफूहरूसंग बस्न आग्रह गर्नुभयो, पेइचीङ् बसुन्जेल आफूसंग राख्न पाए स्य्वे फान्‌ले अरू ठूलो उपद्रव नगर्ला भन्ने वहाँको विचार थियो । 

          स्य्वेयीमा आफ्ना छोराछोरी सहित रोङ्-कुओ-फू महल भित्रको दश बाह्रवटा कोठा भएको एउटा चोकमा बस्न थाल्नु भयो । स्य्वेयीमाकी छोरी स्य्वे पाओछाइ पाओय्विभन्दा एक दुई वर्ष जेठी थिइन् । हेर्दा अति सुन्दरी, तीक्ष्ण बुद्धि भएकी पाओछाइ बाबु पनि बितिसकेको, दाजु पनि उपद्रव गर्दै हिंड्ने भएकोले सानै भए पनि आमालाई ढाडस दिनसक्ने, कुरा बुझ्ने भइसकेकी थिइन् । रोङ्-कुओ-फू महलभित्र बस्न थालेको केही दिन मै स्य्वे फान् र स्य्वे पाओछाइ महलभित्रका सबैसंग बिस्तारै घुलमिल हुन थाले । 

          लीन् ताइय्वि रोङ्-कुओ-फूमा बस्न थालेदेखि सधै पाओय्विसँगै बस्थिन्, उनीसँगै खाने, खेल्ने, सुत्ने गर्दथिन् । चिया माताले पनि उनीहरू दुई जनालाई सबैभन्दा बढी माया गर्नुहुन्थ्यो । अहिले स्य्वे पाओछाइ पनि महलभित्र बस्न थाले पछि मानिसहरूले लीन् ताइय्विभन्दा स्य्वे पाओछाइ कुरा बुझ्ने छिन् भन्ने गरेकोले लीन् ताइय्विको मनमा ईर्ष्या हुन थालेको थियो । 

               एक दिन नीङ्-कुओ-फूका चिया चन्‌की श्रीमती यउश्‌र्‌ले वाङ् सिफङ्लाई आफू कहाँ निमन्त्रणा गरिन् । वाङ् सिफङ् उता महलमा जान तयार भएको देखेर चिया पाओय्विले म पनि सँगै आउँछु भन्यो । वाङ् सिफङ्ले चिया पाओय्विलाई साथ दिएर नीङ्-कुओ-फूमा गइन् । वाङ् सिफङ् र यउश्‌र्‌ कुरा गर्न लागे पछि पाओय्विलाई नरमाइलो लाग्न थाल्यो र त्यहीं “एक छिन सुत्न पाए हुन्थ्यो” भन्न थाल्यो । चिया चन्‌को छोरो चिया रोङ् र बुहारी छीन् खछीङ्‌ले उनलाई उनीहरूको सुत्ने कोठामा लिएर गए । पाओय्वि त्यहाँ एक छिन निदाउन पुग्यो । एकैछिनमा उनले सपना देख्न थाल्यो । सपनामा उनले रोङ्-कु‌ओ-फू र नीङ्-कुओ-फूमा बसिरहेका सबै महत्त्वपूर्ण नवयुवतीहरू र केटीहरूको भाग्य लेखिएको पुस्तक देख्यो र त्यो पढ्न थाल्यो । अस्पष्ट कविताको रूपमा लेखिएको त्यो पुस्तक पढेर उनलाई आफ्ना वरपरका नवयुवतीहरू र केटीहरूको भाग्य र भविष्यबारे केही ज्ञान भयो । केही छिनपछि देखेको डरलाग्दो दृश्यबाट उनी सपनाबाट ब्युँझे । पाओय्विले त्यसबखत देखेको सपनालाई “रातो महलको सपना” उपन्यासको सबै भन्दा महत्त्वपूर्ण मानिन्छ र त्यही सपनालाई “रातो महलको सपना” भनिएको हो भन्ने पनि गरिन्छ । 

               नीङ्‌-कुओ-फूबाट फर्किनु अघि पायोय्विले नातामा भतिजा बुहारी पर्ने छीन् खछीङ्को भाइ छीन् चुङ्लाई भेटे । शान्त स्वभावका सुकोमल छीन् चुङ्लाई भेटे पछि पाओय्विले आफू विद्यालयमा पढ्न जाँदा उसैलाई सँगै लिएर जाने विचार गरे । फर्केर पाओय्विले बज्यैसंग त्यसबारे कुरा गर्दा बज्यैले खुशी भएर उनको कुरा मान्नु भयो । केही समयपछि उनीहरू चिया परिवारका पुर्खाले आफ्नो महल नजिक खोलेको विद्यालयमा पढ्न जाने भए।

               यसबीच लेउ लाओलाओ नाम भएकी एक वृद्धा रोङ्-कुओ-फूमा आउनु भयो । वहाँ वाङ् फूरेन्‌को टाढाको नातेदार हुनुहुन्थ्यो, वाङ् फूरेन्‌की भदै भएर पनि वाङ् सिफङ्लाई वहाँको बारे थाहा थिएन । वाङ् फूरेन्‌कहाँ सोध्न पठाउँदा वाङ् फूरेन्‌ले वहाँले आफै नभेट्ने, तर “लेउ लाओलाओले केही माग्नु भए दिइ पठाउनू” भनेर भन्नु भयो । लेउ लाओलाओ आफ्नो नाति हुर्काउन पैसा नभएर आउनु भएको भन्ने थाहा भए पछि वाङ् सिफङ्ले बीस तोला चाँदी दिएर पठाइन् । लेउ लाओलाओ खुशी भएर फर्केर जानु भयो ।

               लेउ लाओलाओ फर्केर जानुभएको कुरा वाङ् फूरेन्‌लाई बताउन एक प्रौढ सेविका जाँदा वहाँ आफ्नी बहिनी स्य्वेयीमा कहाँ कुरा गरिरहनु भएको थाहा पाएर उनी पनि उतै गइन् । दिदी बहिनी कुरा गरिरहेको सुनेर प्रौढ सेविका पहिले स्य्वे यीमाकी छोरी स्य्वे पाओछाइलाई भेट्न गइन् । स्य्वे पाओछाइ जडीबुटी औषधि खान लागेकी थिइन् । त्यसबारे जिज्ञासा राख्दा पाओछाइले त्यो औषधि बनाउने तरिका सुनाइन् । त्यो सुनेर प्रौढ सेविकाले यस्तो औषधि बनाउन त सबै साइत जुरे पनि तीन वर्ष, नभए त दश वर्ष लाग्ने रहेछ भनेर हाँसिन् ।

               स्य्वे पाओछाइ बिरामी भएर औषधि खाँदै छिन् भन्ने धेरैलाई थाहा भयो । ताइय्वि स्य्वे पाओछाइलाई हेर्न जाँदा त्यहाँ पाओय्विलाई स्य्वे पाओछाइसंग कुरा गर्दै रहेको देखिन् । लीन् ताइय्विले तुरुन्तै, “उ यहाँ आएको छ भन्ने थाहा पाएकी भए म आउने नै थिइन” भनिन् । “किन तिमीहरू दुईजना सँगै आउनु हुँदैन थियो र ?” भनेर स्य्वेयीमाले सोध्नु भयो । लीन् ताइय्विले “हामी अलग अलग समय आएका भए तपाईंहरूकहाँ धेरै समय पाहुना भइ रहन्थ्यो” भनिन् । स्य्वेयीमाले उनीहरूलाई त्यहीं खाना खुवाउनु भयो । पाओय्विले केही रक्सी पनि पियो ।

               केही दिनमा पाओय्वि साथी छीन् चुङ्‌संग विद्यालयमा पढ्न गए । उनीहरूले त्यहाँ केही वर्ष सँगै पढ्ने विचार गरेका थिए । तर विद्यालयमा पढ्न गएको पहिलै दिन त्यहाँ ठूलो झगडा पर्‍यो । त्यसदिन विद्यालयका गुरु काम परेर आउनु भएको थिएन, गुरुका नातिले विद्यालय चलाइरहेका थिए । चकचके विद्यार्थीहरूलाई नियन्त्रण गर्ने क्षमता उनमा थिएन । केही चकचके बदमास विद्यार्थीहरूले पाओय्वि र छीन्‌ चुङ्‌माथि आक्रमण गरे । पाओय्विको रक्षाका लागि गएका सेवकहरूले पनि ती बदमास बिद्यार्थीहरूलाई पिटे । त्यस्तो अमैत्रीपूर्ण विद्यालयमा नपढ्ने निधो गरी पाओय्वि र छीन् चुङ् त्यहाँबाट फर्के । केही समय नबित्दै छीन् चुङ् बिरामी पर्न थाले र केही दिनमै मरे । छीन् चुङ्‌को मृत्युले पाओय्विको मनमा ठूलो चोट पुग्यो । उनले रोएरै केही दिन बिताए।

               केही समय पछि नीङ्-कुओ-फूबाट छीन् खछीङ् बिरामी भएको समाचार आयो । उनीलाई हेर्न वाङ् सिफङ् नीङ्-कुओ-फू पुगिन् । “कुनै ठूलो रोग लागेको होइन होला, ठीक भई हाल्छ नि” भनेर वाङ् सिफङ्लाई लागेको थियो । त्यसको केही दिन पछि एक रात वाङ् सिफङ्ले छीन् खछीङ्को सपना देखिन् । सपनामा छीन् खछीङ्ले चिया परिवार अहिले समृद्ध भए पनि छिटै त्यसको पतन हुनसक्ने बताई त्यसबेलाका लागि तयारी गर्ने सल्लाह दिइन् । वाङ् सिफङ्ले सपनामै छीन् खछीङ्लाई अझ स्पष्टरूपमा बताउन भन्दै थिइन्, बाहिर बजाइएको घण्टाको आवाजले उनी ब्युँझिइन् । त्यो घण्टा छीन् खछीङ्को मृत्यु भएको समाचार दिन बजाइएको रहेछ ।

               छीन् खछीङ्को मृत्युले दुबै महलका चिया परिवारहरू अत्यन्त दुःखी भए । उनी चिया माताको मन पर्ने पनाति बुहारी थिइन् । उनीका ससुरा चिया चन् पनि असंयमित भएर रुन थाले । ठूलो परिवारको सदस्य मर्दा अन्येष्टि संस्कार भव्यरूपमा गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन गरिदिन चिया चन् ले चिया मातासंग वाङ् सिफङ्लाई उता नीङ्-कुओ-फूमा पठाइदिन अनुरोध गर्न आए । त्यस्तो विशेष अवस्थालाई विचार गरी चिया माता र वाङ् फूरेन्‌ले सल्लाह गरी वाङ् सिफङ्‌लाई नीङ्-कुओ-फूमा अन्त्येष्टि स‌ंस्कार हेरिदिन अह्राउनु भयो । वाङ् सिफङ्‌लाई अघिपछि पनि यस्तो काम मन पर्दथ्यो, उनीले खुशीसाथ त्यस कामको जिम्मेदारी लिइन् र केही समय उता नीङ्-कुओ-फूमै बसेर छीन् खछीङ्को अन्त्येष्टि संस्कार भव्यताका साथ सम्पन्न गरिन् ।

               यसैबीच लीन् ताइय्विका बाबु सिकिस्त बिरामी हुनु भएको पत्र आयो । चिया माताले चिन्तित भएर नातिनी लीन् ताइय्विलाई आफ्ना बाबु भेट्न सूचउ पठाउनु भयो । सानी नातिनीलाई बाटोमा हेरचाह गर्न वहाँले जेठा छोराको छोरा नाति चिया लियान्‌लाई लीन् ताइय्विसँगै पठाउनु भएको थियो । लीन् ताइय्विका बाबु साँच्चै नै गम्भीर रूपले बिरामी हुनुभएको रहेछ, केही महिना उपचार गर्दा पनि वहाँलाई सञ्चो भएन र त्यहीं रोगले वहाँ बित्नु भयो । वहाँ बित्नु भएपछि लीन् ताइय्वि पूर्णरूपले अनाथ भइन्, आफ्ना बाबु तर्फका नातदारहरू पनि धेरै नभएको हुँदा सूचउको घरसम्पत्ति बेचबिखन गरी लीन् ताइय्वि चिया लियान्‌संग पेइचीङ्को मामाघरमै सँधैका लागि बस्ने गरी फर्किन् । सूचउबाट फर्किंदा लीन् ताइय्विले धेरै पुस्तकहरू र सबैलाई पुग्ने गरी सानातिना उपहार ल्याएकी थिइन् । उनीले आफ्ना सबै दिदी बहिनीहरू र पाओय्विलाई आफूले ल्याएका उपहारहरू बाँडिदिइन् ।

I BUILT MY SITE FOR FREE USING