१. पौराणिक कथा, उपन्यासको पृष्ठभूमि

          “रातो महलको सपना” उपन्यासको प्रारम्भमा एउटा पौराणिक कथा जोडिएको छ । उक्त चीनिया पौराणिक कथा अनुसार एकपटक आकाशमा प्वाल परेर आकाशगंगा नदीको पानी पृथ्वीमा बग्न थालेछ । त्यो पानीले पृथ्वीलाई नै डुबाएर सम्पूर्ण मानवजातिकै विनाश हुन सक्ने देखेर मानवजातिकी माता न्य्वीवाः देवीले त्यो प्वाल टाल्नका लागि साधना गरी ३६ हजार ५ सय १ टुक्रा अलौकिक ढुङ्गा बनाउनु भएछ । ३६ हजार ५ सय टुक्रा अलौकिक ढुङ्गाबाटै आकाश टाल्ने कार्य सम्पन्न भएको हुँदा एक टुक्रा अलौकिक ढुङ्गा बाँकी रह्यो । न्य्वीवाः देवीले त्यसलाई त्यतिकै राख्नुभयो । त्यो अलौकिक ढुङ्गाले लामो समयसम्म घाम पानीमा रहेर सिद्धि प्राप्त गरेछ र त्यो आफै ठूलो, सानो, हलुका, गह्रौं जस्तो पनि बन्न सक्ने भएछ । त्यो अलौकिक ढुङ्गाले कुनै दिन मानव जगत्‌मा जन्म लिनजाने निधो गरेछ । 

          एक दिन एक ताउ धर्मावलम्बी उहिले न्य्वीवाः देवीले आकाश टालेको ठाउँमा पुग्दा उनले त्यहाँको एउटा ढुङ्गामा केही लेखिएको देखे । नजिक गएर हेर्दा त त्यसमा एउटा लामो कथा नै लेखिएको रहेछ । त्यस ढुङ्गामा लेखिएको कथा हुनाले यसलाई ढुङ्गाको कथा (चीनिया भाषामा श्‌र्‌थउचि") पनि भन्ने गरिन्छ । यही कथालाई भेट्टाएर त्यसको गहन अध्ययन गरी, काँटछाँट गरी “रातो महलको सपना” उपन्यासको रचना गरेको हुँ भनेर लेखक छाओ स्य्वेछीन्‌ले लेख्नुभएको छ । यही नै “रातो महलको सपना” उपन्यासको अलौकिक उत्पतिको कथा हो । अब बल्ल “रातो महलको सपना” उपन्यासको कथाको प्रारम्भ हुन्छ ।

          चीनको राजधानी पेइचीङ् शहरमा चिया थर भएका दुई दाजुभाइको साथ जोडिएका दुई महल थिए । ती दाजुभाइले आफ्नो ज्यानको परवाह नराखी नयाँ सम्राटलाई साम्राज्य स्थापना गर्न सैन्य सहयोग गरेको हुँदा सम्राट्ले उनीहरूलाई नीङ्-कुओ-कुङ् र रोङ्-कुओ-कुङ्को अति उच्च पदवी र बिर्ता जमीन र अन्य सुविधाहरू दिएर राखेका थिए । दाजु नीङ्-कुओ-कुङ्को महलको नाम नीङ्-कुओ-फू र भाइ रोङ्-कुओ-कुङ्को महलको नाम रोङ्-कुओ-फू थियो । ती दुई महललाई नै उपन्यासमा रातो महल भनिएको हो ।

          नीङ्-कुओ-कुङ् र रोङ्-कुओ-कुङ् दुबै दाजुभाइको मृत्यु भइसकेको थियो । नीङ्-कुओ-कुङ्को छोराको पनि मृत्यु भइ सकेको हुँदा नाति चिया चिङ्ले पुर्ख्यौली पदवी पाएका थिए, तर उनलाई ताउ धर्ममा बढी नै अभिरुचि भएको कारणले आफ्नो पदवी छोरा चिया चन्‌लाई दिएर आफू घरबार छोडेर ताउ मन्दिरमा बस्न गएका थिए । यसरी अहिले नीङ्-कुओ-फूका चौथो पुस्ताका पनाति चिया चन् नीङ्-कुओ-फू महलका मालिक बनेका थिए । चिया चन्‌की एक बहिनी थिइन्, उनीको नाम चिया सीछुन् थियो ।


          यता रोङ्-कुओ-फूमा रोङ्-कुओ-कुङ्का छोराको पनि मृत्यु भएको भए पनि बुहारी भने जिउँदै थिइन् । उनीको स्वास्थ्य एवं मनस्थिति पनि राम्रो थियो । उनी चिया परिवार जस्तै अर्को उच्च सरकारी पदवी प्राप्त नान्‌चीङ् शहरको श्‌र्‌ परिवारकी छोरीबेटी थिइन् । घरपरिवारमा उनीलाई सबैले “चिया माता” अथवा “बज्यै” भनेर सम्बोधन गर्दथे । चिया माताका दुई छोरा चिया श र चिया चङ् र एक छोरी चिया मीन् थिए । जेठा छोरा चिया शले बाजेको पुर्ख्यौली पदवी पाएका थिए । उनकी अहिलेकी श्रीमतीको थर सीङ् थियो, सबैले उनीलाई “सीङ् फूरेन्” भनेर सम्बोधन गर्दथे । चिया शकी पहिलेकी (अहिले मरिसकेकी) श्रीमतीबाट एक छोरा र एक छोरी थिए, छोराको नाम चिया लियान् र छोरीको नाम चिया यीङ्छुन् थियो ।

          चिया माताका सानो छोरा चिया चङ्को विवाह अर्को उच्च सरकारी पदवी प्राप्त वाङ् थरका परिवारकी छोरीबेटीसंग भएको थियो । उनीलाई सबैले “वाङ् फूरेन्” भनेर सम्बोधन गर्दथे । वाङ् फूरेन्‌का तीन सन्तान थिए जेठो छोरोको बीस वर्ष नपुग्दै मृत्यु भएको थियो, उनको ली वान् नामकी केटीसंग विवाह भएर चिया लान् नामको एक छोरा पनि थियो । वाङ् फूरेन् की छोरीको नाम चिया य्वीयान्‌छुन् थियो, सुन्दरी एवं तीक्ष्ण बुद्धिकी भएर उनी सम्राट्को सेवाका लागि राजदरबारमा गएकी थिइन् । वाङ् फूरेन्‌का सबैभन्दा सानो छोरा, यस उपन्यासका प्रमुख नायक चिया पाओय्वि थिए । चिया पाओय्वि जन्मिंदा माथि उल्लेख भएको अलौकिक ढुङ्गा बहुरङ्गी जेडको रूपमा उनको मुख भित्र रहेको थियो । यस अद्‌भुत घटनाबाट विस्मित चिया परिवारले उनमा कुनै अलौकिक गुणहरू हुने विचार गरी उनको नाम पनि बहुमूल्य जेडको अर्थमा “पाओय्वि” राखेका थिए । जन्मेदेखि नै त्यो जेड राखेर माला बनाई उनलाई सधै लगाइ राख्न लगाएको थियो । पाओय्वि एक वर्षको हुँदा चीनिया चलन अनुसार उनको अगाडि कलम, कागत, पुस्तक, खेलौना आदि वस्तुहरू राखेर उनलाई टिप्न लगाउँदा उनले कलम कागत पुस्तक कुनै पनि नलिई केटीहरूको श्रृङ्गार साधन हातमा लिए । यो देखर उनका बाबु चिया चङ् यसले ठूलो भएपछि नचाहिने कुरा गरेर दुःख दिने भयो भनेर चिन्तित हुनुभयो र वहाँलाई आफ्नो त्यो छोरो मन पर्न छोड्यो ।

          चिया चङ्को महलमा पहिले सेविकाको रूपमा रहेकी चाउ थरकी उपपत्नी चाउ यी नियाङ्बाट पनि एक छोरी र एक छोरा थियो । ठूली छोरीको नाम चिया थान्‌छुन् र सानो छोरोको नाम चिया हुवान् थियो । चीनको त्यो बेलाको चलन अनुसार मालिकको उपपत्नीबाट जन्मिएका सन्तानको हैसियत मालिक वर्गको हुने, तर उनीहरूका आमाको हैसियत चाहिं पछिसम्म पनि मालिक वर्गको नहुने हुन्थ्यो ।

          चिया माताकी कान्छी छोरी चिया मीन्‌को विवाह नान्‌चीङ् नजिकैको सूचउ शहरका लीन् थर भएका एक सरकारी पदाधिकारीसंग भएको थियो । सानी छोरी लीन् ताइय्वि पाँच वर्षकी हुँदा उनकी आमा चिया मीन्‌को मृत्यु भयो । छोरी तीक्ष्ण बुद्धि भएकी भएर आमाबाबुले सानै उमेरमा लीन् ताइय्विलाई त्यहींका स्थानीय पढे लेखेका व्यक्ति चिया य्वीछुन्‌लाई नियुक्त गरी अक्षर चिन्ने बनाएका थिए ।

          आफ्नी छोरीको अकाल मृत्यु भएको, ज्वाइँ पनि सरकारी पदाधिकारी भएर विभिन्न ठाउँहरूमा गइ रहनु पर्ने, घरमा नातिनीको हेरचाह गर्ने कोही नहोला भन्ने पीरले चिया माताले नातिनी लीन् ताइय्विलाई आफ्नो साथमा राखी हुर्काउने विचार गरी उनीलाई लिनका लागि जहाज पठाउनु भयो । पेइचीङ्देखि सूचउ नजिकैसम्म जहाज चलाउन मिल्ने ठूलो नहरको निर्माण त्यसबेला भइसकेको थियो । लीन् ताइय्वि पेइचीङ् जाने भएपछि उनीका अध्यापक चिया य्वीछुन्‌ले पनि पेइचीङ् गएर सरकारी सेवामा नियुक्त हुने इच्छा लीन् ताइय्विका बाबु समक्ष व्यक्त गरे । लीन् ताइय्विको बाबुले आफ्ना जेठान चिया चङ्लाई एक पत्र लेखी चिया य्वीछुन्‌लाई कुनै सरकारी पदमा नियुक्त गरिदिन अनुरोध गर्नुभयो र लीन् ताइय्विलाई लिन आएको जहाजमै राखी पेइचीङ् जान बिदाइ गर्नुभयो । 

          चिया परिवारका सदस्यहरूको विवरण उपन्यासका विभिन्न ठाउँमा उल्लिखित छ र उपन्यासको संरचना अति जटिल छ, पाठकहरूलाई बुझ्न सजिलो होस् भन्ने उद्देश्यले पहिले नै चिया परिवारका सदस्यहरूको सम्बन्ध यहाँ प्रस्तुत गरिएको हो । उपन्यासको मूलकथाको प्रारम्भ लीन् ताइय्वि पेइचीङ्‌मा मामाघर पुगेको घटनाबाट हुन्छ ।

I BUILT MY SITE FOR FREE USING