५. जोसुकै होस् भोलि मात्र आउनुहोला

          एक दिन मध्याह्नको समयमा एउटा सेवकले आत्तिए जस्तो गरी पाओय्विको कोठा अगाडि आई, “बाजेले डाकि बक्स्यो” भन्यो । त्यो सुनेर पाओय्वि तुरुन्त आत्तिहाले, आफ्ना बाबुले फेरि के भनेर गाली गर्ने हुन्, पिट्ने हुन् भनेर सोच्न थाले । बावुले डाके पछि जानै पर्‍यो भनी लुगा फेरेर कोठाबाट निस्क्यो । बाटोमा स्य्वे पाओछाइका दाइ स्य्वे फान्‌लाई भेटे । स्य्वे फान्‌ले “बाबुले डाक्नुभयो भने पछि त छिट्टै निस्किने रहेछ, जाऔं बाहिर घुम्न जाऔं” भन्यो । स्य्वे फान्‌ले त्यसरी झुक्याएको भनेर थाहा भए पछि पाओय्विलाई अलि रिस पनि उठ्यो, तर त्योभन्दा पनि बाबुको गाली सुन्नु नपरेकोले मन हलुङ्गो भयो । पाओय्वि स्य्वे फान्‌संग बाहिर घुम्न गए । स्य्वे फान्‌ले फङ् थर भएका सेनापतिका छोरासंग पाओय्विको परिचय गरायो । साँझ परेपछि पाओय्वि महल फर्क्यो । मध्याह्नमा निस्केका पाओय्वि धेरै बेर नफर्केका हुनाले सीरेन् आदि सेविकाहरू र लीन् ताइय्विलाई पनि चिन्ता लाग्न थालेको थियो । पाओय्वि खुशी भएर फर्केको देखेर सीरेन्‌को मन पनि हलुङ्गो भयो । केही बेरपछि पाओय्विलाई भेट्न स्य्वे पाओछाइ आइन् । पाओय्विकी अर्की सेविका छीङ्वेन्‌लाई पाहुनाहरू त्यसरी साँझ परेपछि आउने, आधा रातसम्म नफर्किने मन पर्दैनथ्यो । त्यसैले उनीलाई रिस उठिरहेको थियो । त्यसैबेला लीन ताइय्वि पनि पाओय्विको कोठा बाहिरको ढोका ढकढकाउनु आइपुगिन् । छीङ्वेन्‌ले रिसाएर “मालिकले कसैलाई पनि भित्र नछिराउनू भन्नु भएको छ । भोलि आउनु होला” भनिन् । लीन् ताइय्विले “म हुँ, म हुँ ढोका खोल” भनिन् । छीङ्वेन्‌ले वास्तै नगरी “जोसुकै होस्, भोलि मात्र आउनु होला” भनिन् । लीन् ताइय्विले यो सुनेर त्यहीं उभिएर आँसु बगाउन थालिन् । त्यसरी त्यहाँ बसिरहनु को पनि कुनै अर्थ थिएन, उनी दुःखी भएर आफ्नो कोठातिर लाग्न खोज्दा पाओय्विको कोठा बाहिरको ढोका खुल्यो, स्य्वे पाओछाइ त्यहाँबाट निस्किन्, पाओय्वि, सीरेन् आदि उनीलाई पुर्‍याउन बाहिरसम्म आए । केही टाढाबाट लीन् ताइय्विले त्यो दृश्य देखिन् र रुँदै आफ्नो कोठामा फर्किन् । पाओय्वि र स्य्वे पाओछाइ कसैले पनि लीन् ताइय्विलाई देखेनन् । लीन् ताइय्वि कोठामा फर्केर पनि रोइरहिन, रात भर राम्ररी सुत्न सकिनन् ।

          भोलिपल्ट वसन्तमा फुलेका फूलहरूलाई बिदाइ गरी रोपाइँ सुरु गर्ने चीनिया परम्परागत माङ्चुङ् पर्व थियो । पर्व मनाउन सबै दिदी बहिनीहरू बगैंचामा भेला भए, तर लीन् ताइय्वि भने आइनन् । रातभर राम्ररी नसुतेकी भएर उनीलाई संचो थिएन, तैपनि केही ढीला भए पनि त्यहाँ भेला हुन आउने तयारी गर्दै थिइन् । लीन् ताइय्विलाई नदेखेर स्य्वे पाओछाइ उनीलाई डाक्न आइन् । तर लीन् ताइय्विको कोठामा पाओय्वि पसेको देखेर स्य्वे पाओछाइ अर्कैतिर घुम्न गइन् । आफ्नो कोठामा आएका पाओय्विलाई लीन् ताइय्विले वास्ता गरिनन् , पाओय्विले कति पटक कुरा सुरु गरे, तर लीन् ताइय्वि बोल्दै नबोली त्यहाँबाट निस्किन् र बगैंचातिर लागिन् ।

          पाओय्वि पनि निराश भएर दिदी बहिनीहरू भेला भए तर्फ लागे । बाटोमा साहिंली बहिनी थानछुन्‌संग भेट भयो । थान्‌छुन्‌ले पाओय्विलाई धेरै दिन पछि भेटेकोले “सानो दाइलाई सञ्चै छ ?” भनेर सोधिन् । त्यसपछि पाओय्विलाई “तपाईं बाहिर जाने बेलामा मलाई रङ्गीन धागो, रेशमको कपडा ल्याइदिनुस् है, म अस्ति जस्तै तपाईंलाई अर्को एक जोर जुत्ता बनाइदिन्छु” भनिन् । पाओय्विले थान्‌छुन्‌लाई “फेरि किन दुःख गर्छौ, अस्ति तिमीले बनाइदिएको जुत्ता देखेर बाबाले किन त्यत्रो परिश्रम र सामान व्यर्थै खेर पार्नु परेको होला भन्नु भयो । सीरेन्‌ले चाउ यीनियाङ्ले आफ्नो भाइको लगाउने जुत्ता छैन, किन मलाई जुत्ता बनाइ दिनु परेको होला भनेको सुनेकी थिइन् रे ।” यो सुन्नासाथ थान्‌छुन् रिसाएर कराउन थालिन्, “मेरी आमाले यो के सोच्नु भएको होला, के म जुत्ता बनाउने मान्छे हुँ, कसको जुत्ता छैन भनेर हेर्दै उसका लागि बनाइ दिने ? हुवान् भाइको लागि पनि आफ्नै खर्च छदैछ । त्यसैबाट चाहिएको वस्तु किनिदिए भइहाल्यो । मैले आफ्नै खर्चले फुर्सदमा मन लगाएर बनाएको जुत्ता मलाई जो मन पर्छ, उसैलाई दिन्छु, त्यो पनि कसैले मलाई भन्ने कुरा हो ?” थान्‌छुन्‌लाई सम्झाएर पाओय्वि अरू दिदी बहिनीहरू जम्मा भइरहेको ठाउँतिर गए ।

          बाटोमा पाओय्विले लीन् ताइय्विले भुइँ झरेका फूलहरू जम्मा गरी एउटा रेशमको थैलीमा राखी भुइँ खोस्रेर सानो खाडल खनेर गाड्न लागेको टाढैबाट देख्यो । लीन् ताइय्वि रुँदै थिइन् र केही गीत कविता गुन्गुनाउँदै थिइन् । फूलहरू राखेको थैली गाडिसकेपछि लीन् ताइय्वि त्यहीं एउटा रूखनिर बसेर रोइ रहिन् । उनीले पाओय्विलाई देखेकी थिइनन् र उनीले त्यसरी फूल गाडेको पाओय्विले हेरिरहेको थियो भन्ने पनि उनीलाई थाहा थिएन । लीन ताइय्विले भावुक भएर फूल गाडेको देखेर पाओय्वि पनि त्यहीं भावविह्वल भएर रुन थालेको थियो । लीन् ताइय्वि रुन रोकिए पछि उनीले नजिकैबाट अरू कोही रोएर आएको आवाज सुनिन्, आवाज आएतिर गएर हेर्न जाँदा उनीले पाओय्विलाई रोइरहेको देखिन् । लीन् ताइय्वि हिजो राति पाओय्विका सेविकाहरूले उनीलाई भित्र पस्न नदिएका हुनाले पाओय्विसंग रिसाएकी थिइन् भने, लीन् ताइय्विले आफूसंग नबोलेकी हुँदा पाओय्वि पनि लीन् ताइय्विसंग रुष्ट भएका थिए ।

          लीन् ताइय्विले पाओय्विलाई देख्नासाथ “को होला भन्ठानेकी त उही अलच्छिनको रहेछ”, भनेर छिटो पर जान थालिन् । लीन् ताइय्वि त्यसरी छिटो छिटो पर जान थालेको देखेर पाओय्विले दौडेर गएर लीन् ताइय्विको बाटो छेक्दै उनीको हात समात्यो । लीन् ताइय्विले आफ्नो हात छुटाउन खोज्दा पाओय्विले दुःखी हुँदै, “अहिले आएर यस्तो हुने थाहा भएको भए, त्यसबेला किन त्यसरी व्यवहार गर्नु पर्थ्यो” भन्यो । “त्यसबेला हामी एकै ठाउँमा खान्थ्यौ, एकै ठाउँमा सुत्थ्यौ, सँगै खेल्थ्यौ, मैले त तिमीलाई आफ्नै मान्छे सम्झिएको थिएँ, अहिले तिमी त्यसै मसंग बोल्दिनौ, मेरो अगाडि पर्न चाहदिनौ, किन ?” पाओय्विले रुञ्चे स्वरमा भन्यो । लीन् ताइय्विले आफूले पाओय्विलाई त्यतिकै दोषी देखेको रहेछु भन्ने बुझिन्, तैपनि भनिन् “अहिले यसरी कुरा गर्ने मान्छेले हिजो राति चाहिं किन मलाई कोठा भित्र पस्न नदिएको त ?” पाओय्विले अचम्म मान्दै सोध्यो, “हिजो राति पाओछाइ दिदी आउनु भएको थियो, तिमी पनि आएकी थियौ र? मलाई थाहा भएन । पक्कै कोठाकी सेविकाहरूले त्यतिकै भने होलान्, उनीलाई म गएर राम्ररी कज्याउछु ।” लीन् ताइय्विले हाँस्दै भनिन्, “हो, राम्ररी कज्याउनु होला, मलाई भएर त केही भएन, अरूलाई पनि त्यसरी ढोकै नखोली फर्काए भने फेरि ठूलै समस्या पर्ला ।"

          केही दिनपछि स्य्वे पाओछाइका दाजु स्य्वे फान्‌ले आफ्नो जन्मदिन मनाउन पाओय्वि र अरू केही साथीहरूलाई आफ्नो घरमा डाक्यो । त्यहाँ आउनेहरूमा राम्रो गीत गाउने र अभिनय गर्न जान्ने चियाङ् थर भएका कलाकार पनि थिए । पाओय्विले उनको बारेमा पहिले नै सुनेका थिए, त्यसदिन भेट भएपछि पाओय्विले उनलाई अलग्गै भेटेर उनीसंग मित्रता राख्न चाहेको कुरा गरे । चियाङ् थर भएका कलाकार पनि पाओय्विको साथी बन्न पाएकोमा खुशी भए । उनीहरूले मित्रताको चिनो स्वरूप आ-आफ्नो कम्मरमा बाँधिरहेको लामो रुमाल पनि साटासाट गरे । त्यहाँबाट आफ्नो कोठा फर्के पछि सेविका सीरेन्‌ले पाओय्विको कम्मरमा अर्कै रुमाल बाँधिएको देखेर त्यो कसको रुमाल भनेर सोधिन् । पाओय्विले आज भेट भएको साथीसंग रुमाल साटासाट गरेको कुरा सुनाएपछि सीरेन्‌ले “त्यसो भए मेरो रुमाल त्यो केटोलाई दिनु भयो तपाईंले ?” भनेर सोधिन् । त्यसबेला मात्र पाओय्विले आज बिहान कम्मरमा बाँधेको रुमाल आफ्नो नभई सीरेन्‌को भएको सम्झे, उनले “नदिनु पर्ने थियो, दिइहालें, म तिमीलाई अर्को ल्याएर दिन्छु, नरिसाउ” भने ।

I BUILT MY SITE FOR FREE USING